टेक्सासको एक सहरमा ‘पोङ्फेस्ट’ पार्टी मनाउँदा ठुलो संख्यामा कोरोना संक्रमित भएको आशँका

टेक्सास

अमेरिकाको टेक्सास राज्यमा आयोजित एक भोजमा सहभागी ३ सय जना किशोर किशोरीमा कोरोना संक्रमण सरेको आशंकामा उनिहरुलाई अलग्गै (आईसोलेसन) मा बस्न भनिएको छ । टेक्सास अस्टिनस्थित जन स्वास्थ सरोकार राख्ने एक निकाय र लेक वे सिटीले सयौंको संख्यामा भोज मनाएका सबै युवा युवती कोरोना संक्रमितको संसर्गमा आएका कारण सहभागी सबैलाई आईसोलेसनमा बस्न भनिएको हो ।  

लेक वे शहरकी मेयर स्याण्डी कक्सले बिहीवार फेसबुक भिडियो मार्फत गत जुन २० तारिखका दिन ‘पोङ्फेष्ट’ नाम दिईएको ठुलो जमघटमा केही कोरोना संक्रमित समेत सहभागी भएको र उनिहरुले पार्टीमा सहभागी थुप्रैलाई सारेको हुन सक्ने अनुमान गरेको बताईन् । अस्टिनस्थित जन स्वास्थ (पब्लिक हेल्थ) कार्यालयले ३ सयको संख्यामा सहभागी उक्त भोजमा कोरोनाको शंकामा जाँच गरेर नतिजा कुरी रहेकाहरु समेत सहभागी भएको र अहिले ती सहभागीहरुको नतिजा, कोरोना पोजेटिभ आएको बताएको छ । 

मेयर कक्सले फेसबुक भिडियोमा भनेकी छिन्; ‘जो जो पोङ्फेष्ट पार्टीमा सहभागी थियो १४ दिनसम्म आईसोलेसनमा बस्नुस् ।  यो बीचमा ज-जससँग भेटघाट भयो सबैलाई १४ दिन आईसोलेसनमा बस्न भन्नुस् र लक्षण देखिएको भए तुरुन्तै जाँच गर्न जानुहोस्’ ।  

 उक्त भोजमा सहभागी हुनेको जाँचका लागि छुट्टै जाँच केन्द्र खडा गर्न लागेको समेत बताएकी छिन् । ट्राभिस काउन्टीको उक्त सहरमा ११ हजार ४ सय जना बसोबास गर्दछन् भने हालसम्म १०५ जना संक्रमित भएको मध्मे हाल ५० जना मात्र संक्रमित अवस्थामा छन् ।