काठमाडौं । युगाण्डा पहिलो पटक आइसिसी टी-२० विश्वकपमा पुगेको छ । आइसिसी विश्वकप २०२४ को अफ्रिका छनोटमा शीर्ष दुईमा परेसँगै युगाण्डा पहिलो पटक विश्वकपका लागि छनोट भएको हो। समूहको अन्तिम तथा निर्णायक खेलमा युगाण्डाले रावान्डालाई ९ विकेटले हरायो । छनोटमा युगाण्डाले आफूले खेलेका ६ मध्ये ५ खेलमा जित निकाल्यो।
यता आइसिसी स्थायी सदस्य जिम्बावे भने टी २० विश्वकप २०२४ का लागि छनोट हुन असफल भयो। खेलेका ६ मध्ये जिम्बावे ४ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको थियो। जिम्बावेलाई नामिबिया र युगाण्डा पराजित गरेका थिए। नामिबियासँग पराजित भएको युगाण्डाका लागि समूह चरणमा जिम्बावेलाई हराउनु नै विश्वकपमा स्थान पक्का गर्ने आधार बन्यो। नामिबिया भने अन्तिम खेलअघि विश्वकपमा छनोट भएको थियो।
छनोटमा युगान्डा र नामिबियासँगै जिम्बावे, केन्या, नाइजेरिया, रावान्डा र तान्जानियाले खेलेका थिए। सात मध्ये शीर्ष दुई टिम बन्दै युगान्डा र नामिबिया आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएका हुन्। अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लागेको छ। यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।