टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा भाग लिन खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई बिदाई गरेकी छिन् । शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना समेत दिइन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने छ ।

ओलम्पिकमा सहभागी हुन नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाने निश्चित भएको छ । नेपालबाट पौडीका दुई, एथ्लेटिक्स, सुटिङ र जुडोका एक, एक खेलाडी ओलम्पिकमा भाग लिन जादैछन् । पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स), सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । गौरिका सिंह र एलेक्जेन्डर शाहले ओलम्पिकको मार्चपासमा नेपालको झण्डा संयुक्त रुपमा बोक्नेछन् । गौरिका र एलेक्स भने अहिले जापानमै छन् ।