टोकियो । जापानले आयोजना गर्न लागेको ओलम्पिक खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । स्वास्थ्य अधिकारीले कोरोना महामारीका बीच दर्शक नराख्न दिएको चेतावनी वेवास्ता गर्दै जापानले दर्शकलाई सहभागी गराउन लागेको हो । जापान २०२० ओलिम्पिक्सका खेलमा एक स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने निर्णय भएको बीबीसीले जनाएको छ ।
विदेशी दर्शकले भने खेल हेर्न पाउने छैनन् । १० हजार भनिए पनि खेल हुने स्थानको क्षमताभन्दा ५० प्रतिशत नाघ्न नदिई घरेलु दर्शकलाई उपस्थित हुन दिइने भएको हो । दर्शकहरू चिच्याउन वा ठूलो स्वरमा बोल्न पाउने छैनन् । खेल स्थलमा मास्क अनिवार्य लगाउनु पर्नेछ ।
ओलम्पिक खेल जुलाइ २३ तारिखबाट शुरू हुँदैछ । एक महिनापछि अगस्ट २४ तारिखबाट प्यारालिम्पिक्स शुरू हुनेछ। दर्शकविना खेलहरू सञ्चालन गर्नु कम जोखिमयुक्त र राम्रो विकल्प हुने भन्दै जापानका चिकित्साविद्ले सुझाव दिएका थिए । ओलिम्पिक आयोजनाका कारण जापानमा कोरोनाभाइरस सङ्क्रमण बढ्न सक्ने चिन्ता व्यक्त भइरहेको छ ।