ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

पक्राउ परेका राना

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए। उनलाई ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा बगाइदिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो घटना ५ चैतको भएपनि पछि मात्र खुलेको हो । प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको । चालक अमित परियार फरार रहेको बताइएको छ । घटनापछि दुवै जना ट्याक्टर छाडेर भागेको प्रहरीले जनाएको छ ।

घटनाबारे स्वयमः सुनिलले पाल्पा पुगेर दिदीलाई बताएपछि घटना बाहिरिएको हो । सुनिलले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । नदीमा बगेका गाहा भने वेपत्ता छन् । उनको खोजी गर्न प्रहरीले गोताखोर मगाएको बताएको छ ।