ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन् ।

प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ुपार्टीजस्तो गरेको आरोप लगाएका छन् । एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन्। ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।

तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ। आपत्कालीन अवस्थाले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।