ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ ।

ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्‍याकलले ‘स्टारगेट’ नामक संयुक्त परियोजना सुरु गर्न लागेका छन् । यसमार्फत उनीहरूले अमेरिकामा डेटा सेन्टरहरू स्थापना गर्दै १ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्न लागेका छन् । यसका लागि १ सय अर्ब डलर सुरुवाती लगानीसहित चार वर्षमा सम्पन्न गर्ने गरी स्टारगेट सुरु गरिने ट्रम्पले जानकारी दिएका छन् ।

सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनले ह्वाइट हाउसमा ट्रम्पसामू नै स्टारगेट परियोजना उद्घाटन गरेका थिए । परियोजनाअन्तर्गत टेक्ससमा पहिलो डेटा सेन्टर स्थापना सुरु भइसकेको ओर्‍याकलका प्रमुख एलिसनले बताएका छन् । ‘तपाईँले चुनाव नजित्नु भएको भए हामी यो परियोजना सुरु गर्ने थिएनौँ,’ सफ्ट बैंकका प्रमुख सनले ट्रम्पसमक्ष भनेका थिए । ओपेनएआईका अल्टम्यानले पनि राष्ट्रपतिका रूपमा ट्रम्प नभइदिएको भए एजीआई भनिने ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ जस्तो शक्तिशाली प्रविधि विकास गर्न आफूहरू सफल नहुने बताएका थिए ।


ट्रम्पले आफ्नो दोस्रो कार्यकालको दोस्रो दिन नै पूर्व राष्ट्रपति जो बाइडेनद्वारा जारी गरिएको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याएका छन् । बाइडेनले सन् २०२३ मा उपभोक्ता, कामदार र राष्ट्रिय सुरक्षामा एआईले पार्न सक्ने जोखिम न्यूनीकरणका लागि एआईसम्बन्धी कार्यकारी आदेशमा जारी गरेका थिए । सो आदेशमा अमेरिकी राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य र सुरक्षामा जोखिम निम्त्याउन सक्ने एआई प्रणाली सार्वजनिक गर्नुअघि निमकर्ताहरूले त्यसको सुरक्षा जाँचको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने उल्लेख थियो ।