काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् ।
तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ । डेलावेयरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले कोरोनाभाइरस विरुद्धको लडाई जित्न समन्वयको खाँचो औल्याए । कोरोनाविरुद्धको योजना बनाउनै २० जनवरीसम्म कुर्नुपरे त्यस अवधिसम्म धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी उनले दिएका हुन् ।
राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपतमा निर्वाचित कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन्। जसले गर्दा उनीहरुले आफ्नो कार्यकालको योजना बनाउन पाएका छैनन् ।
उनीहरुलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङको पहुँच समेत प्राप्त भइसकेको छैन । बाइडेनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार्न आग्रह समेत गरेका छन् ।
राष्ट्रपतीय चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट प्राप्त गरि विजयी भएपनि ट्रम्पको चुनावी अभियानले धाँधली भएको आरोप लगाएको छ । यसअघि ट्रम्पले सोमबार मात्र टुइटमार्फत चुनाव आफुले जितेको दावि गरेका छन् । एजेन्सी