एजेन्सी
५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै लेखेका छन् ।
एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गर्नुभएको बिषयलाई समाचारमा उल्लेख गरिएको छ । यस्तो अनुसन्धान हुन्छ कि हुँदैन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । ट्रम्प प्रशासनले राष्ट्रपतिका राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका डेमोक्र्याटिक नेताविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ ।
अमेरिकी नेताले केन्द्रीय बैंकको दर निर्धारण समितिमा रहेका कुकलाई लक्षित गर्दै पावेलविरुद्ध पटक–पटक लिखितरूपमा आरोप लगाएपछि यो निर्देशन आएको हो । फेडले यस वर्ष महत्वपूर्ण कर्जा दरमा कुनै परिवर्तन गरेको छैन । कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए । सन् २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थिए । उनले सोही महिनाको अन्त्यमा सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सपथ लिएका थिए । कुकले यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आर्थिक सल्लाहकार परिषद्मा काम गरिसकेका छन् ।
हालैका महिनाहरूमा केन्द्रीय बैङ्कले मुद्रास्फीतिमा अमेरिकी करनीतिको प्रभावको निगरानी गर्न दरहरू स्थिर राख्ने अडान लिएका छन् । ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ व्यक्तिको संज्ञा दिएका छन् । ट्रम्पले यसअघि पनि फेडको मुख्यालयको अत्यधिक महँंगो जीर्णोद्धार नै पावेललाई पदबाट हटाउनुको कारण हुनसक्ने बताए । फेडको अध्यक्षका रूपमा पावेलको कार्यकाल सन् २०२६ मेमा समाप्त हुँदैछ।