काठमाडौं । काठमाडौंमा जारी ट्राइ नेसन्स सिरिज क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । दिउँसो सवा एक बजेबाट शुरु हुने खेलमा आज पनि नेपाल उच्च मनोवलका साथ मैदान उत्रने छ । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्लाई शनिबार ९ विकेटले हराएको थियो ।
सोमबार मलेसियालाई समेत ९ विकेटले हराएको नेपाल अहिले उच्च फर्ममा देखिएको छ । उता, नेदरल्याण्ड्सले पनि मलेसियाविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । लगातार तेस्रो जित निकाल्न सके नेपाल एक खेल अगाडी नै फाइनल पुग्ने छ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।
आजबाट नेपालको मैदानमा दर्शकको साथ भने हुने छैन । रंगशालामा दर्शक बीना नै खेलाउनु पर्ने सरकारको आदेशको पालना गर्दै क्रिकेट संघ नेपाल (क्यान)ले आजबाट प्रवेश रोकेको छ ।