तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ ।
त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् ।
तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ, जहाँ पछिल्लो समय एम्बुलेन्सको प्रयोग आपतकालिन अवस्थामा भन्दा पनि ट्राफिक जामबाट बच्न बढी प्रयोगमा आइरहेको छ ।
त्यो पनि गरिब मानिसले आँट गर्ने कुरै भएन । पहुँचवाला र धनीमनी मानिसले ट्राफिक जाम जामबाट सहजै पार पाउन धेरै रकम तिरेर एम्बुलेन्स प्रयोग गर्न थालेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसरी सद्दे मानिसले एम्बलेन्सको दूरुपयोग गर्नु भने संसारभर गैरकानूनी मानिन्छ । इरानको राजधानी तेहरानमा यस प्रकारको गतिबिधि बढिरहेको छ ।
तेहरान यस मुलुकको सबैभन्दा उच्च जनघनत्व भएको शहर हो । यस शहरमा मात्र १ करोड ४० लाख मानिस बसोबास गर्छन् ।
हालै एक फूटबल खेलाडीले बोलाएको एम्बुलेन्सबाट यसको नमुना सार्वजनिक भएको हो । उनले एम्बुलेन्सलाई ट्याक्सीका रुपमा घरमा बोलाएका थिए । उनको घरमा कोही पनि बिरामी थिएनन ।
खासगरी अभिनेता, खेलाडी तथा धनी मानिसहरुले जामबाट छुटकारा पाउन यो उपाय अपनाइरहेको संचारमाध्यमले लेखेका छन् ।
एजेन्सी