ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । ट्वीटर खरीद गर्ने सम्झौताबाट इलन मस्क पछि हट्ने निर्णयमा पुगेका छन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरीद गर्न सम्झौता गरेका थिए । तर, माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै उनले ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने निर्णय लिएका हु्न् । ट्वीटरले भने अब इलनविरुद्ध मुद्दा हाल्ने जनाएको छ । कम्पनीका अध्यक्ष ब्रेट टेलरले मर्जर सम्झौता लागू गर्न इलनविरुद्ध कानुनी कारबाही गर्ने बोर्ड समितिको योजना रहेको उनले बताएका छन् ।

ट्वीटरले स्पाम र नक्कली एकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नु परेको मस्कको भनाई छ । गत मे महिनामा उनले फेक एकाउन्टबारे ट्वीटरसँग पूर्ण विवरण मागेको र त्यो प्राप्त भइनसकेकाले ट्वीटर किन्ने सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ बताएका थिए । उनी ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या र स्वचालित खाताको संख्याबारे विवरण चाहन्थे ।

धेरै मानिसहरूमाझ सूचना फैलाउन र अन्तरक्रियाको तरिका बदल्न स्पाम एकाउन्ट बनाउने गरिन्छ । ट्वीटरका अनुसार कम्पनीले हरेक दिन करिब १० लाख त्यस्ता खाता हटाउने गरिएको छ । मस्कले ट्वीटरमा २० प्रतिशत वा त्योभन्दा बढी स्पाम वा बट एकाउन्ट भएको अनुमान गरे्का छन् ।