काठमाडौं । ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई नेपाल विद्युत् प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।
प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा भएको व्यवस्था अनुसार प्राधिकरणले व्यवसायीहरुलाई चार्जिङ स्टेशन निर्माणमा प्रोत्साहन गर्दै ट्रान्सफर्मरसहित बिजुली दिने भएको हो ।
२०० केभीएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेशन स्थापना गर्दा ट्रान्सफर्मर राखिदिने प्राधिकरणले जनाएको छ । पछिल्लो समय उत्पादित बिजुली खेर जानथालेपछि प्राधिकरणले विनियमावली नै बनाएर खपत बढाउन विभिन्न सहुलियत तथा छुट दिन थालेको हो ।
प्राधिकरणले निजी आवास, कार्यालयहरु, फर्म/कम्पनी/संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिने विनियमावलीमा उल्लेख छ।
साथै, प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरिएको छ ।