ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतमा नभई पर्साको ठोरीस्थित अयोध्यापुरीमा भएको बताएसँगै अहिले ठोरी चर्चामा रहेको छ । ठोरीबासी समेत हर्सित छन् । प्रधानमन्त्रीले बीना अध्ययन बोलेको आरोप लागेसँगै अब भने आधिकारिक निकायलाई ठोरीमा अध्ययन गर्न दवाव बढेको छ । सोही क्रममा सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक तथ्य खोजीका लागि उत्खनन गर्न सकिने सम्भावनाबारे विज्ञहरुसँग छलफल थालेको छ ।

अयोध्यापुरीमा पुरातात्विक तथ्य खोजी गर्न विज्ञसँग छलफल गर्ने तयारी भइरहेको पुरातत्व विभागले जानकारी दिएको छ । विभागका एक अधिकाीका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभागलाई अब अनुसन्धानका लागि दवाव र चूनौति दुबै थपिएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेका थिए । इतिहासविद्, संस्कृतिविद् र धर्मविदसँग छलफल गरी निर्णय लिने तयारीमा विभाग रहेको छ । प्रारम्भिक चरणमा उत्खननको लागि विज्ञहरुसँग छलफलको प्रक्रिया अगाडि बढाइएको ति अधिकारीको भनाई छ ।