काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप उद्योगहरुको बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल तथा अशोक स्टीलको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ ।
अन्य उद्योगहरुको पनि ५० करोड माथिको बक्यौता रहेको दाबी गर्दै बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो । शुक्रबारदेखि प्राधिकरणले बढी बक्यौता भएको उद्योगको लाइन काट्न सुरू गरेको हो । तर, डेडिकेटेड फिडर र ट्रंक लाइनको विषय अत्यन्तै विवादित छ ।