डेनमार्कको राजधानीस्थित सबैभन्दा व्यस्त सपिङ मलमा अन्धाधुन्ध गोलीबारी, कम्तिमा तीनको मृत्यु

कोपनहेगन । डेनमार्कको सबैभन्दा ठूलो सपिङ मल मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आम मानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ। प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई आतङ्कवाद सम्बन्धी कार्य होइन भन्न नसकिने बताए।

प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताए। मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन्।
‘हाम्रो सुन्दर र सामान्यतया सुरक्षित राजधानी केही बेरमै परिवर्तन भयो’ उनले भनिन्। डेनमार्कको राज परिवारले पीडितहरू, उनीहरूका आफन्तजन र उक्त घटनाबाट प्रभावित सबैप्रति आफ्नो गहिरो सहानुभूति व्यक्त गरेको छ।

‘हामीलाई त्रासदीबारे पूर्ण रूपमा थाहा छैन तर मानिसहरूले ज्यान गुमाएको स्पष्ट छ र अझ बढी घाइते भएका छन्, रानी मार्गरेट, युवराज फ्रेड्रिक र युवराज मेरीको संयुक्त वक्तव्यमा लेखिएको छ। आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ। सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ।

प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र पसल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भिडिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ। फिल्ड्स मलमा १४० भन्दा बढी पसल र रेस्टुराँहरू छन्। थुप्रै तलाको यस मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको छ। गोली चल्दा किनमेल गर्न आएका मानिसहरूले भोगेको आतङ्कबारे प्रत्यक्षदर्शीहरू बोलेका छन्।