तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्।

स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।

‘स्थानीय तहको चुनाव रोक्नुहुँदैन् र रोकिँदैन पनि । यो मेरो आग्रह हो,’ उनले भने, ‘बैशाखमै निर्वाचन गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु । सरकारले निर्वाचनको मिति मात्र दिओस् ।’

चुनाव सारिए स्थानिय तह प्रतिनिधिविहीन हुने भन्दै उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने धारणा राखे । पछिल्लो समय स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने र यसलाई पछि धकेल्नेगरि तयारी भएको चर्चा चलिरहेको छ ।

सत्तारुढ गठबन्धनले संविधान बाझिएको भन्दै ऐन संशोन गरेर मात्र निर्वाचन गर्ने सहमति गरेको छ । तर, स्थानिय तह प्रतिनिधिविहीन बनाउन नहुने भन्दै सरकारले तोकिएको समय बैशाखमै निर्वाचन गर्नुपर्ने सर्वत्र दबाव बढेको छ ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा भने तीनै तहको निर्वाचन एकैपटक मंसिर, माघ वा फागुनमा गर्ने रणनीतिमा छन् । एकैपटक निर्वाचन गर्दा खर्च कम लाग्ने उनको धारणा छ । तर नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष, लगायत विभिन्न राजीनितक दलका नेताहरुले स्थानिय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान राखेका छन् ।