तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् ।
व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ मा एक बृद्धा हराइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । यसरी म्याग्दे गाउँपालिका–१ का एक सहित तनहुमा ११ जना बेपत्ता भएका हुन् । ऋषिङ गाउँपालिका–८का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको प्रहरीले जनाएको छ ।
उता, व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया महिला हराइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्दारको काम जारी रहेको बताइएको छ । गण्डकी प्रदेश यस वर्ष पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रदेशको म्याग्दीमा २० जनाको मृत्यु भइसकेको छ । ११ जना अझै वेपत्ता छन् । लमजुंग र कास्कीमा समेत पहिरोले मानवीय क्षति गरेको छ ।