तनावपूर्ण खेलमा पीएसजी हार्यो, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड

काठमाडौं । सन् १९८४\८५ को लीगयता फ्रेन्च लीग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो पटक लीगमा लगातार पहिलो दुई हार सामना गर्यो । तर, गत राती खेलमा उसले अर्को झट्का समेत बेहोरेको छ । मार्सेसँग हारेको यो खेलमा ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीले रातो कार्ड पाए ।

तनावपूर्ण खेलमा मार्सेका दुई खेलाडीलाई समेत रेफ्रीले २ रातो कार्ड देखाए । लीगको दोस्रो खेलमै यी दुई क्लवबीच अनुशासनहिन खेल भएको हो । पिएसजीलाई मार्सेले उसैको मैदानमा १- ० ले पराजित गर्यो । मार्सेका लागि फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उसले अंक तालीकामा महत्वपूर्ण तीन अंक जोड्यो ।

नेयमार कोरोना संक्रमणबाट निको भएर मैदान फर्केका हुन् । तर, उनले सोचेजस्तो प्रदर्शन भने गर्न सकेनन् । खेलको इन्जुरी समयमा भएको धक्काधक्कीमा रातो कार्ड देखाइएको हो । पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवीले रातो कार्ड पाए ।