तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्ततः तयार भएको छ । आधारभूत काम पुरा भई विजुलीको परीक्षण उत्पादन थाल्ने तयारीसँगै सरकारले सोमबार आयोजनाको औपचारिक उद्घाटन गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा यो आयोजनाका परीक्षण उत्पादन सोमबारबाटै शुरु हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिच्ने गरि तयारी गरिएको हो । सोमबारबाट तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । पहिलो १५ दिन परीक्षण उत्पादन अवधि तोकिएको छ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ ।

व्यवसायिक उत्पादन शुरु भएपछि भने प्राधिकरणले आयोजनालाई बिजुलीबापतको पैसा दिन थाल्ने छ । ७६\७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर खिम्ती ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन बनेको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण सकिएको छ । अहिले आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने तयारी छ ।