काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् ।
सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ ।
कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति भएको हो । व्यवसायीहरु सँगकै सहमतिमा यस क्षेत्रमा रहेका ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।
बजार व्यवस्थित गर्नेबारे शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहित छलफल भएको थियो ।
शनिबारदेखि बजारभित्र खुद्रा पसल चल्ने छैनन् । यहाँ दुईपांग्रे सवारीसाधन समेत प्रवेश निषेध गरिएको छ ।
अब थोक किन्ने ग्राहक मात्र कालिमाटी बजारमा छिर्न पाउने भएका छन् ।
बैठकले बजारभित्र थोकका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ठूला प्याकेजिङमा मात्रै बिक्री गर्न आग्रह गरेको छ ।
लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ ।