काठमाडौं । मुलुक भित्रको तरल राजनीतिका बीच कट्टर कम्युनिष्टको छवि बनाएका दलहरुले रणनीतिक मोर्चा गठन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलबीच यस्तो संयुक्त मोर्चा गठन भएको हो ।
मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल समावेश छन् । चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापन गर्ने लक्ष्य लिएको बताएका छन् ।
मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने घोषणा गरेको छ।
रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन्। समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जना रहेका छन् ।
मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरिने मोर्चाको तयारी छ ।