तराईबासी नेपालीको महान चाड छठ शुरु

काठमाडौं । नेपालको तराईमा विशेष महत्वका साथ मनाईने पर्व छठको विधिवत शुरुवात भएको छ । घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरि छठको शुरुवात गरिएको हो । यो वर्ष छठ अन्तर्गत आज नहायखाय मनाइन्छ । बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा गर्ने गरी साइत जुराइएको छ ।

पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरी राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित खाने प्रचलन रहेको छ । यो विधि नै मिथिला भाषामा ‘खरना’ हो ।

छठको मूख्य दिन षष्टी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य दिन्छन् । त्यस दिन ठकुवा, कसार, अन्य मिष्ठान्न परिकार, केरा, दहीसहित सूर्यलाई देखाउने प्रचलन छ ।

यो ‘सझुका अरख’ विधि हो । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताइन्छ । यो वर्ष भने तलाउ र पोखरीमा भन्दा घरमै छठ मनाउन सरकारले आह्वान गरेको छ । मूख्य तलाउ र पोखरी यो वर्ष बन्द रहनेछन् । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ का रुपमा मनाइन्छ ।