काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।
फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना समेत नष्ट गरिएको छ । उता, सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । उनको फार्ममा रहेका ७५० किलो दाना पनि नष्ट गरिएको छ । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरासमेत नष्ट गरिएको छ ।
शान्ता खनालको फार्मबाट १०० लोकल कुखुरा र २ वटा टर्की नष्ट गरिएको विभागले जनाएको छ । यसअघि पनि यहाँ बर्डफ्लु पुष्टी भएको थियो । केही साता अगाडी १४ सय भन्दा बढी हाँस मार्नु परेको थियो । विभागका अनुसार अहिले बर्ड फ्लूको सङ्क्रमण देखिएको स्थान पहिचानको काम जारी रहेको छ । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानले भने क्षतिपूर्ति पाउने छन् ।