तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित परेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित ६ महानगर र ११ उपमहानगरमा दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गराउने निर्णय गरेको हो ।

बैठकले केन्द्रबाट भागवण्डा भएका ६ महानगर र ११ उपमहानगरमा वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर निर्णय लिन निर्देशन दिने निर्णय पनि गरेको छ ।

साथै सम्भव हुने स्थानमा सहमति गरेर साझा उम्मेदवारी बनाउने निर्णय पनि बैठकले गरेको छ । बताइएअनुसार उक्त विषयमा जिल्ला तहले निर्णय लिनेछ ।