काबुल । तालिबानले भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश दिएको छ। टिकटक र पब्जीले अफगान युवाहरूलाई गलत दिशामा डोर्याएको तालिबानको आरोप छ। बीबीसीका अनुसार उक्त लडाकु समूहले टेलिभिजनहरूलाई पनि अनैतिक सामग्री प्रसारणमा प्रतिबन्ध लगाउने बताएको छ। हालै सङ्गीत, चलचित्र र टेलिभिजन धारावाहिकमा प्रतिबन्ध लगाएको तालिबानले थप प्रतिबन्धहरूको घोषणा गरेको हो।
गत वर्ष सत्तामा पुगेपछि तालिबानले नरम नीति लिने वाचा गरेको थियो। तर सरकारमा पुगेपछि तालिबानले विशेष गरी महिलासहित नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण बढाउँदै लगेको छ। सन् १९९६ देखि २००१ सम्मको तालिबानको पहिलो शासनकालमा कठोर इस्लामिक कानुनहरू लागु गरिएको थियो। तालिबानका प्रवक्ता इनामुल्लाह समाङ्गनीले युवाहरूलाई बहकाउबाट जोगाउन पछिल्लो प्रतिबन्ध अत्यावश्यक रहेको बताएका छन् । तर प्रतिबन्ध कहिलेबाट कार्यान्वयनमा आउँछ र कति समयका लागि कायम रहन्छ भन्ने अझै स्पष्ट छैन।
गत अगस्टमा सत्तामा आएको तालिबानले कुनै एपमा प्रतिबन्ध लगाएको यो नै पहिलो घटना हो। दक्षिण कोरियाली निर्माताले बनाएको अनलाइनमा युद्धको अनुभव दिलाउने पब्जी प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड को छोटो नाम हो। यो गेम पनि अफगानिस्तानमा लोकप्रिय बन्दै गएको छ। यसअघिको सरकारले पनि पब्जीमा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो तर सफल भएको थिएन।
अफगानिस्तानमा पछिल्ला वर्षहरूमा युवा जनसङ्ख्यासँगै इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। यो देशमा अहिले दशौँ लाख इन्टरनेटका प्रयोगकर्ता छन्। अफगानिस्तानमा तीन करोड ९० लाख जनसङ्ख्याको करिब दुई तिहाइ मानिसहरू २५ वर्ष वा त्यो भन्दा कम उमेरका छन्।