काबुल । अफगानिस्तानमा तालिबानले महिलाहरूमाथि आफ्नो संस्थामा काम गर्न प्रतिबन्ध लगाएसँगै चार वटा मुख्य गैरसरकारी संस्थाले सो मुलुकमा काम रोक्ने निर्णय लिएका छन् । एउटा संयुक्त विज्ञप्तिमा केयर इन्टरन्याश्नल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी बिना” आफूहरूले काम जारी राख्न नसक्ने बताएका छन् । द इन्टरन्याश्नल रेस्क्यु कमिटीले पनि आफ्नो सेवाहरू स्थगित गर्ने जनाएको छ।
अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले महिला अधिकारलाई निरन्तर रूपमा दबाउँदै आएको छ। महिलाहरूलाई विश्वविद्यालय शिक्षामाथि प्रतिबन्ध लगाए लगत्तै तालिबानले गैरसरकारी संस्थाहरूमा पनि काम गर्न नपाउने पछिल्लो निर्णय गरेको हो। तालिबानको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले विदेशी सहायता समूहहरूमा काम गर्ने महिला कर्मचारीले हिजाब लगाउनुपर्ने नियम उल्लङ्घन गरेको बताएका छन्।
पछिल्लो प्रतिबन्ध अनुसार काम नगर्ने कुनै पनि संस्थाको अनुमति रद्द गरिदिने धम्कीसमेत तालिबानले दिएको छ। त्यसयता थुप्रै सहायता समूहहरूले महिलाहरूलाई काम गर्न दिइनुपर्ने माग राखेका छन्। केयर, एनआरसी र सेभ द चिल्ड्रेनको नेतृत्व तहमा रहेकाहरूले महिला कर्मचारीहरू नभएको भए “सन् २०२१ को अगस्ट यता आवश्यकतामा रहेका लाखौँसम्म आफूहरू संयुक्त रूपमा पुग्न नसक्ने” बताएका छन्।
अफगानिस्तानभरि ३,००० महिलाहरूलाई रोजगारी दिएको इन्टरन्याश्नल रेस्क्यु कमिटी आइआरसीले आफ्नो संस्थाको सबै तहमा सेवा दिने क्षमता महिला कर्मचारीमा भर पर्ने भन्दै महिला कर्मचारीलाई रोजगारी दिन नसकिए “अप्ठेरोमा परेकाहरूलाई” सेवा दिन नसक्ने जनाएको छ।
एनआरसीका यान एगल्याण्डले आफ्नो संस्थामा काम गर्ने १४ सयमध्ये करिब ५०० महिला कर्मचारी रहेको र कर्मचारीहरूले “परम्परागत मान्यता, पोसाकको नियम, आवतजावत र छुट्टै कार्यालयका नियमहरू” अनुसार कार्यालयमा काम गरेको बताएका छन्। गैरसरकारी संस्थाहरूमा काम गरेर घरका लागि आयआर्जन गर्ने अफगानिस्तानका महिलाहरूले प्रतिबन्धका कारण आफूहरूले निरीह महसुस गरेको यसअघि बताएका थिए।