योगेश आदी, न्यूयोर्क
हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला नभै छाप्दैनौं । त्यो सामग्री छापा पत्रिकाको लागि संग्रह गरेर राख्छौं । वर्तमान अवस्थामा कोरोना सम्वन्धि सामग्री र समाचारमा बढी फोकस भएका छौं । हरेक दिन बिबिध किसिमका प्रश्नको सामना गर्नु पर्छ; ‘मैले पठाएको समाचार के भयो ? हाम्रो पनि समाचार बन्नु पर्यो नि ! हाम्रो त किन छापिन्थ्यो र ! अन्तर्वार्ता गर्नुपर्यो । हाम्रोमा किन रिपोर्टर आएन नि ? संस्थाको बारेमा केही जानु पर्यो है ?’ यस्ता खालका आग्रह, अनुरोध, घुर्की इत्यादी अनौठो लाग्दैन । घुम्ती पसलेले बाटो सोध्ने बटुवालाई झर्को मानेर साध्ये पनि चल्दैन ।
भन्नु होला कि; ‘तँपाईको छाप्ने मापदण्ड के‘ ? त्यसो त छापिने सामग्रीको मापन सुचक हुँदैन । हाम्रो विबेक नै सबथोक हो । त्यसो त; बिबेक प्रयोग गर्ने मान्छेको नै विबेक नपुगे के गर्ने ? त्यतिबेला ठान्नुहोस् कि भगवानलाई मञ्जुर थिएन । किनकि मान्छेले दोष थाप्न रअप्रत्यासित प्राप्तीमा जस दिनको लागि भगवान थपना गरेका छन् । जुन विश्वासले सधै न्याय दिने गर्दछ ।
यस कुरामा निश्चिन्त हुनुहोस् कि तँपाईले प्राप्त गर्ने प्रतिफल न्यायीक नै हुन्छन् । जति तँपाईको हकमा परेको छ, त्यतिनै तँपाईको भाग थियो । मानिसलाई लाग्छ कि “मेरो मुल्याङ्कन कम भयो । मेरो चर्चा यतिले पुगेन । मेरो गतिलो पनि किन छापिएन“।
कतै सुनेको एउटा नीतिकथालाई मेरो भनाई पुष्टी गर्ने जिम्मा दिन्छु ।
एउटा मन्दिरको सिंढीमा गोपाल र कृष्ण गफ गर्दै थिए । रमेश थपिए । ३ जना साथीहरु गफ गर्दागर्दा रात परिसकेको थियो । त्यत्तिकैमा रमेशले भन्यो; अत्यत्नै भोक लाग्यो । गोपालले भन्यो; ‘मसँग ३ ओटा रोटी छ, १,१ ओटा खाऔंला‘ । त्यसैमा कृष्णले थप्यो; ‘मसँग पनि ५ ओटा रोटी छन्, बाँडेर खाऔं‘ । जम्मा ८ ओटा रोटी ३ जनालाई कसरी भाग लगाउने भन्ने सल्लाह भयो । कृष्णले भन्यो; ‘सबै रोटीको३/३ टुक्रा पारौं अनि २४ टुक्रा भएपछि बराबरी भाग पुग्छ‘ । सबै राजी भए । ८/८ टुक्रा खाएर त्यही सुते । अर्को दिन विहान उठेर घर जानेबेला रमेशले भन्यो; तिमीहरुले आफ्नो खानाबाट काटेर मलाई ८ टुक्रा रोटी दिएकोले मेरो भोक टर्यो । यो ८ ओटा सुनको सिक्का राख‘ । सिक्का दिएर रमेश घर हिड्यो ।
गोपालले भन्यो; ‘८ ओटा सिक्का छ, दुबैलाई ४/४ बराबर मिल्छ‘ । कृष्णले आपत्ति जनायो; मेरो ५ ओटा रोटी थियो, म ५ ओटा सिक्का लिन्छु । तिम्रो ३ ओटा रोटी थियो, तिमी ३ ओटा लिऊ‘ । बिबाद नमिले पछि पुजारीले “अहिले सबै सिक्का मलाई छाडेर घर जाऊ । भोली बिहान दुबै आऊ अनि म बाड्दिउँला” भनें । पुजारी न्यायीक र ज्ञानी भएकोले सबै सिक्का पुजारीलाई छाडेर घर गए । पुजारी कसरी वाड्ने भनेर हैरान थिए । पुजारीको सपनामा भगवान आएर भनें; ” गोपालको रोटीको ९ टुक्रा थिए । जसमा ऊ आफैले ८ टुक्रा खाए । उसले १ टुक्रा मात्र दान गर्यो । त्यस्तै, कृष्णको रोटीको १५ टुक्रामा उसले ७ टुक्रा दान गर्यो । यसर्थ; योगदानको आधारमा गोपाललाई १ सुनको सिक्का देऊ, बाँकी ७ ओटा कृष्णलाई देऊ” । भगवानको न्याय सुनेर पुजारी चकित परे । उनको दिमागमा कहिल्यै नआएको तरिका भगवानले बताएकोले सोही अनुसार कृष्णलाई ७ सिक्का र गोपाललाई १ सिक्का दिए ।
वास्तवमै हामीलाई लाग्छ कि; मैले गरे अनुसार मुल्याङ्कन भएन । पाउनु पर्ने बढी थियो । तर प्राप्ती र समाप्तीको निर्णय माथिबाट न्यायीक नै भई रहेको हुन्छ । दिन नआएसम्म केही हुँदैन । आएपछि कुनै दबाईले छुँदैन । स्वस्थ रहनुस् ।