काठमाडौं । तिहारमा चिनीको अभाव हुन नदिन विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको छ । आज काठमाडौंको भित्रि सहरमा थप छ सय बोरा चिनी जाने छ ।
चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह गरिएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको थियो । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।
बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको हो । प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।