त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् । दुवै टोलीले बुधबार दोस्रो खेल खेल्न लागेका हुन् । दुबै टीमले यसअघि पपुवा न्यूगिनीलाई एक एक खेलमा हराएका छन् । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुने कार्यक्रम छ ।

अघिल्लो वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि मलेयिाले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन । सो खेलमा भने नेपालले दुवै खेलमा मलेसियालाई हराएको थियो । नेपाल आज सोही लय समात्ने दाउमा हुने छ । नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । ६ खेल टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन् । नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।