काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको उनले जानकारी दिए ।
२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने सञ्चालक कँडेलले बताए । भिल्लामा ३ सय जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिएको छ । भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ । भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज बुक गर्न सकिने कम्पनीले बताएको छ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउने भएका छन् ।
भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशूली नदीको सुन्दर दृश्यावलोकन गर्न सकिने कँडेलले बताए । रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशूली नदीमा र्याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् ।
भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । एडभेन्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारि नै पार्किङको सुविधा छ । बाइकमा भने झोलुङ्गे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ ।