थर परिवर्तन : परम्परा कि पहिचानमाथि हस्तक्षेप ?

डा. तारू कार्की
विवाह हाम्रो समाजमा जीवनको अत्यन्तै महत्वपूर्ण मोड हो । विवाह पद्धति समाजले स्थापना गरेको संस्था हो । विवाहसँगै नयाँ नाता, नयाँ जिम्मेवारीको सुरुवातहरु जीवनमा जोडिन्छन् । यिनै सुरुवातहरुसँगै आइरहन्छन् केही पुराना परम्पराहरु पनि– जसमध्ये एउटा हो, महिलाले विवाहपछि आफ्नो थर परिवर्तन गर्नुपर्ने चलन । तर, के थर परिवर्तन वास्तवमै आवश्यक छ ? के यो परम्परा नाममा मात्र हो कि महिला पहिचानको अवमूल्यन ?


केही वर्षअगाडिको कुरा हो । मेरो एक नातेदार अमेरिकामा पढिरहेकी थिइन् । उहाँका बारेमा म परिवारका सदस्यहरुबाट सधैं सकारात्मक कुरा सुन्थें– ‘छोरा नभएर के भो र ? छोरी त छोरा जस्तै छे– निडर, आत्मनिर्भर ।’ यस्तो सुन्दा उहाँप्रति सम्मान झन् बढ्थ्यो । एक दिन फेसबुक म्यासेन्जरमा च्याट गर्दैगर्दा उहाँले मलाई सोध्नुभयो– ‘भाउजू, हजुरले आफ्नो थर किन परिवर्तन गर्नुभएन ? ‘थापा’ राख्नुपथ्र्यो नि !’


म स्तब्ध भएँ । एउटा विकसित देशमा बसेर अध्ययन गरिरहेकी, शिक्षित र आत्मनिर्भर युवतीको मुखबाट आएको त्यो प्रश्नले मलाई गहिरो संशय पैदा गरायो । जसलाई म प्रगतिशील सोच राख्ने महिला ठान्दथें, उहाँकै दृष्टिकोणभित्र समाजले महिलामाथि थोपारेको परम्परागत सोच लुकेको रहेछ ।


अनि मलाई थाहा भयो– अरुले उहाँको प्रशंसा गरिरहेका थिए, तर त्यो प्रशंसा ‘छोरी भएर पनि छोरा जस्ति’ बनेकोमा थियो, ‘छोरीको रुपमा’ बनेकोमा होइन ।
त्यतिबेला मेरो विवाह भर्खरै भएको थियो । मनमा धेरै कुरा थिए, तर बोलीमा ल्याउन सकिन । किनभने एउटा नयाँ बुहारी भएर घर भित्रिँदा मलाई सिकाइएको थियो– ‘सासुहरुले नन्द, आमाजू वा जेठानीले जे भने पनि केही नभनी स्वीकार गर्नुपर्छ । बोल्दा विवाह नै बिग्रिन्छ ।’ यही डरले म चुप लागें ।
तर, केही वर्षपछि उहाँ नेपाल फर्केर विवाह गर्नुभयो ।


र अचम्मको कुरा– उहाँले पनि आजसम्म आफ्नो थर परिवर्तन गर्नुभएको छैन ।
यो देख्दा मलाई खुसी लाग्यो । सायद उहाँले पनि बुझेको हुनुपर्छ– विवाहपछि जीवनको स्वरुप बदलिन्छ, तर पहिचान मेटिनु हुँदैन । आफू जन्मिएको थर, आफ्नो अस्तित्वको जरा हो– जुन कहिल्यै परिवर्तन हुँदैन ।


थर परिवर्तन गर्नु महिलाको स्वाभिमानको मापन होइन ।
र, आफ्नो जन्मथर राख्नु विद्रोह पनि होइन।
समाजले महिलालाई बारम्बार त्याग गर्न सिकाएको छ– घर, नाम, परिचय ।
तर श्रीमान्ले थर फेरेका देखिन्छन् ?
श्रीमान्ले तपाईंको थर जोडेका छन् ?


हैन भने, विवाहको प्रमाण एकतर्फी किन बनोस् ? हामी महिलाले किन जन्मसिद्ध पहिचान त्याग्नुपर्ने ? श्रीमान्को थर ‘गोरेटो’ हो– जसले सँगै हिँड्न सक्छ ।
तर, हाम्रो थर त ‘जरा’ हो– जसले हामीलाई हुर्काउँछ, टेवा दिन्छ, पहिचान दिन्छ ।
थर केवल नामको पछाडि जोडिने शब्द होइन ।


यो हाम्रो पहिचान हो, अस्तित्व हो, आत्मस्वाभिमान हो ।
श्रीमान्को थर राख्ने कि नराख्ने– यो एक महिलाको व्यक्तिगत निर्णय हुनुपर्छ, समाजको नियम होइन । आज पनि हाम्रो समाजमा धेरै महिलाहरु विवाहपछि ‘पतिको घर’ गइकन आफ्नो थर परित्याग गर्छन् ।
कतिपय खुसी भएर गर्छन्, कतिपय बाध्यतामा ।


तर यो परिवर्तनले एउटा गहिरो प्रश्न उठाउँछ– के महिलाको पहिचान यति सजिलै मेटिन सक्छ ? हामीले आजको पुस्तालाई यो कुरा सिकाउनुपर्छ– थर परिवर्तन गर्नु बाध्यता होइन, छनोट हो । र यदि छनोट हो भने, त्यो अधिकार महिलाकै हुनुपर्छ ।
जन्मिएको थर माइतीको होइन, त्यो हाम्रो हो । हाम्रो अधिकार र हाम्रो चिनारी हो । जन्मिएको थर माइतीको होइन, त्यो हाम्रो हो । हाम्रो अधिकार हो । हाम्रो परिचय हो ।
हाम्रो आत्मसम्मान हो । जुन दिनदेखि हामी महिलाले विवाहपछि अनिवार्यरुपमा थर फेर्नुपर्छ भन्ने सोचबाट मुक्त हुन्छौं, त्यस दिन हामी साँचो अर्थमा समाज रूपान्तरणको बाटोमा हुन्छौं ।