काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।
वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ । घरका भुइँतला डुबानमा परेका छन् ।
आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो ।