थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने

Photo : Farakdhar

काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने तयारी छ । उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो । खेल साँझ ५ः३० बाट शुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा नेपाल स्पष्ट जितका साथ उपाधी जित्ने लक्ष्यमा हुने छ । प्रतियोगिताका दुबै खेल गोलरहित बराबरी खेलेको नेपालले आज भने गोलको खडेरी तोड्नु पर्नेछ । नेपालको सिनियर टिमले गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ ।

सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए । त्यसयता गोल हुन सकेको छैन । बंगलादेश, कीर्गिस्तान र नेपालबीचको प्रतियोगितामा बंगलादेशले मात्र स्पष्ट जित निकाल्दै फाइनल पुगेको हो ।