थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो

Photo : Farakdhar

काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ। तीन राष्ट्र सहभागी भएको प्रतियोगिताको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशबीच आज गोलरहित बराबरी भएसँगै नेपाल फाइनलमा पुगेको हो । फाइनल खेल नेपाल र बंगलादेशबीच नै सोमबार साँझ साढे ५ बजे हुने भएको छ ।


पहिलो खेलमा पनि नेपाल र कीर्गिस्तानको ओलम्पिक टिम बराबरी खेलेका थिए । नेपाल दुबै खेल बराबरी र एक गोल पनि नगरी फाइनल पुग्न सफल भएको हो । प्रतियोगितामा कुल तीन खेल भएका छन् । जसमा एक गोल मात्र सम्भव भएको छ, त्यो पनि आत्मघाती । नेपालले लगातार छैठौं अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेन । आज नेपालले पर्याप्त गोलका अवसर पाएपनि त्यसलाई उपयोग गर्न भने सकेन ।

आज बंगलादेशविरुद्ध खेल्दै नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने मौका पाएका छन् । मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले सुरुवाती रोजाइमा खेल्ने मौका पाए । दुबै खेलाडीले आफुलाई अब्बल सावित गर्न सफल भए । निशान खड्काले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् । आज बंगलादेशले भने पूरै सेट परिवर्तन गर्दै फाइनलका लागि खेलाडीलाई आराम दिएको हो ।