काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र कीर्गिस्तान यू२३ बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । करीव आधा दर्जन अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसकेको नेपालले अन्ततः अंक बाड्न बाध्य भएको हो ।
अर्कोतर्फ १० खेलाडीमा सिमित रहेको कीर्गिस्तानले समेत नेपाललाई बराबरीमा रोक्न सफल भएको छ । खेल बिहीबार दशरथ रंगशालामा भएको हो । बराबरीपछि नेपालले फाइनल पुग्न आगामी शनिबार हुने बंगलादेशसँगको खेलमा कम्तिमा बराबरी गर्नुपर्छ । फाइनल भने सोमबार रहेको छ । नेपाल पराजित भएमा भने कीर्गिस्तान र बंगलादेश फाइनल खेल्नेछन् ।
नेपाली सिनियर टीम दशरथ रंगशालामा ६ वर्षपछि उत्रिएको हो । भूकम्पपछि राष्ट्रिय टीमले यहाँ खेल्ने पाएको थिएन । साग गेममा नेपालको यू२३ टीमले भने यसै मैदानमा गत वर्ष खेलेको थियो । खेलको ६६ मिनेटमा कीर्तिस्तान १० खेलाडीमा सीमित बनेपनि नेपालले त्यसको फाइदा लिन भने सकेन ।
नेपालका फरवार्ड अभिषेक रिजालमाथि फल गरेपछि कप्तान तासिएभ कामोलिदिनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै रेफ्रीले मैदान बाहिर पठाएका थिए । पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।