दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

Photo source : Global times

काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ली माथि आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पछिल्लो फैसला अनुसार पूर्व राष्ट्रपति लीले पुनरावेदनको सुविधा समेत पाउने छैनन् । वर्तमान राष्ट्रपतिबाट सजाय माफ गर्न सक्ने प्रावधान छ । त्यो अस्वीकृत भएमा भने उनी तोकिएको अवधिभर जेलमा बस्नु पर्ने छ ।

लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनीमाथि १७ वर्षको सजाय तोकेको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गरेको छ । उनीमाथि अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्न रहेको आरोप छ । एजेन्सी