सोल । दक्षिण कोरियामा औद्योगिक दुर्घटनाका कारण एक नेपालीको मृत्यु भएको छ । नेपालमा बागलुङको गलकोट नगरपालिका–११ घर भएका ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। उनी कोरियाको थेगु शहरको एक राइसमिलमा काम गर्दै आएका थिए । नेपाल मगर संघ दक्षिण कोरियाले यसको पुष्टी गरेको हो । दुई वर्षअघि कोरिया गएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए।
लडेपछि बेहोस भएका उनलाई नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको र परिवारलाई यसबारे जानकारी समेत गराइएको संघले जनाएको छ । अहिले दक्षिण कोरियामा मात्र ५० हजार भन्दा बढी नेपाली काम गरिरहेका छन् ।