सोल । अन्तरिक्ष होडमा अब दक्षिण कोरिया समेत समावेश भएको छ । दक्षिण कोरियाले देशमै निर्मित पहिलो रकेट परीक्षण गरेको हो । बीबीसीका अनुसार
नुरी भनिने कोरियन स्याटलाइट लन्च भीइकल टु राजधानी सोल भन्दा ५०० किमी दक्षिणको गोहुङबाट प्रक्षेपण गरिएको छ । राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य पूरा नगरेको बताएका छन्। यस्ता प्रक्षेपणहरू अन्तरिक्ष कार्यक्रमका लागि अपरिहार्य भए पनि सैन्य प्रयोगहरू समेत हुनसक्ने बताइन्छ। सैन्य प्रतिस्पर्धामा रहेका छिमेकीहरू दक्षिण र उत्तर कोरिया दुवैले हालै नयाँ अस्त्रहरूको परीक्षण गरिरहेका छन्।
उत्तर कोरियाले सन् २०१२ मै पृथ्वीको कक्षमा भू उपग्रह छोडेको थियो। स्वदेशी रकेट नुरीको निर्माणका लागि दक्षिण कोरियाले एक अर्ब ६० करोड डलर बढी खर्च गरेको थियो। तरल इन्धनबाट सञ्चालन हुने सो रकेटको तौल २०० टन र लम्बाई ४७.२ मिटर भएको बताइएको छ। राष्ट्रपति मुनले रकेटले लक्ष्य प्राप्ति नगरेको स्वीकार गर्दै ठ्याक्कै लक्ष्य भेट्ने गरी फेरि प्रक्षेपण गर्ने बताएको समाचार संस्था रोएटर्सले जनाएको छ।
दक्षिण कोरियाले रकेटको विश्वसनीयता बढाउन सन् २०२७ भित्र थप चार नुरी रकेटहरूको प्रक्षेपण गर्ने योजना बनाएको कोरियन एरोस्पेश रिसर्च इन्स्टिच्युटले जनाएको छ। प्रविधि क्षेत्रको शक्तिकेन्द्र मानिने दक्षिण कोरिया अन्तरिक्ष अन्वेषणको विकासमा अरू देशहरू भन्दा पछि रहेको छ। यसअघि सन् २००९ र २०१० मा रकेट परीक्षण गर्ने उसको प्रयास असफल भएको थियो। दोस्रो रकेट प्रक्षेपणको केही समयमै विस्फोट भएको थियो। दक्षिण कोरियाले सन् २०३० भित्र चन्द्रमामा यान पठाउने लक्ष्य राखेको छ।