दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध

Pic : Radio free europe

वासिंटन डिसी । अमेरिकाले रुसका दर्जनौं संस्था तथा त्यसमा आवद्ध अधिकारीहरुमाथि प्रतिवन्ध घोषणा गरेको छ । साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको बीबीसीले लेखेको छ । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध घोषणा गरेको बताएको छ ।

प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ। गत वर्षको ठूलो सोलारविन्डस् ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप अमेरिकाको छ । सन् २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप लगाइएको छ।

उता, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ । यस प्रतिवन्धसँगै दुई महाशक्ति राष्ट्रबीच तनाव बढ्ने चिन्ता बढेको छ । गत महिना क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रुसी अधिकारी र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको हो ।