दशैँको तेस्रो दिन भगवती दुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि यसअघि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेकोमा यसपटक कोरोना संक्रमणका कारण सबै शक्तिपीठ बन्द छन् ।

हिन्दु धर्मालवम्वीहरूले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र सुरू भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।