काठमाडौं । नेपालको अधिकांश भूभागमा वर्षा शुरु भएको छ । यसपटक छिटो दशैं परेका कारण वर्षातले बाटो अझै बढी नराम्रोसँग प्रभावित हुने देखिएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसले गर्दा केही देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य क्षेत्रका पहाडी भेग र पूर्व तथा पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यकामा समेत वर्षा जारी रहेको छ ।
आइतबार दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि समान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।
रातमा सामान्य बदली हुनेछ। केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखाइएको छ ।
राति पूर्वी तथा मध्य भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।
यस पटक ११ असोजमै घटस्थापना रहेको छ । दशैंका लागि ५ असोजबाट अग्रिम टिकट बुकिंग खुल्दैछ ।