दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

फाइल तस्वीर

काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन् ।

यो अवस्थामा दशैंमा निर्वाध घर जान सक्ने वा नसक्ने अन्यौल भने आम यात्रुमा छ । यता, दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् । यो सामान्य प्रक्रिया पनि हो । किनकी हवाईजहाज कम्पनीहरुले अहिले दशैं भनेर घोषणा नगरे पनि अग्रिम टिकट लिन्छन् । तर, बसमा त्यस्तो हुँदैन ।

दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् ।

सरकारले मिति नै तोकेर अग्रिम टिकट बुक गराउनु पर्छ । तर, दशैं भित्रन ९ दिन मात्र बाँकि रहेको अवस्थामा समेत सरकारले अझै के गर्ने भन्ने टुंगो भने लगाउन सकेको छैन । व्यवसायीहरुले दशैंमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने माग गरिरहेका छन् । सरकारले जनस्वास्थ्यमा चूनौति हुने भन्दै त्यसको पक्षमा छैन ।

सोहीकारण सहमति हुन नसकेकै कारण अग्रिम टिकट बुक हुन नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् । यात्रु कति राख्न दिने वा नदिने भन्ने निर्णय समेत विभाग एक्लैले भने गर्न सक्दैन । यसका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएसी)ले गर्नुपर्छ । तर, सीसीएमसी नै यो विषयमा गम्भीर हुन सकेको छैन । यसको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्छन् ।