४ असोज, काठमाडौं । सरकारले दशैं अगाडी नै नागढुंगा सुरुङमार्गबाट यात्रुबाहक सवारी साधन चलाउने तयारी गरेको छ । दशैं अगाडी काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीमध्ये यात्रुबाहक सवारी साधन जान दिने र दशैंपछि भित्रने सवारी साधनलाई पनि सो मार्ग प्रयोग गर्ने दिनेबारे सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले गरेको छ । भौतिक मन्त्री कुलमान घिसिङले जान मन्त्रालयमा आकस्मिक बैंठक राखेका थिए । सो बैठकले उपत्यकाको चाप घटाउन सुरुङमार्ग प्रयोगको विकल्पमा निर्णय गरेको हो ।
साथै काठमाडौं उपत्यकाको नयाँ बसपार्क र विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा ठूला भारबहन सवारी साधन (१२ चक्के र सो भन्दा माथि)लाई सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । खाद्यान्नलगायत अत्यावश्यक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।
बैठकले मुलुकभरीका मूख्य सडक चुस्त दुरुस्त राख्ने, सुधार गर्ने र पहिरोजन्य विपद् व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन दिएको छ । दाउन्ने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात चलाउन, चुइन खोलको अवरोध हटाई राजमार्ग सञ्चालनमा ल्याउन र तातोपानी नाका दशैं अगाडी नै सञ्चालनमा ल्याउन समेत विभागलाई निर्देशन दिएको छ ।