काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ ।
समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी परेको छ ।
उक्त दिन मंगलबार हो । त्यसो त विजयादशमीमा दिन भर जसो नै उत्तम साइत मानिन्छ । तर, पात्रो कै साइत जुराउनेहरुका लागि भने उक्त समय सबैभन्दा राम्रो रहेको बताइएको छ ।
दशैंमा घर जानेहरुलाई लक्षित गर्दै काठमाडौंमा अग्रिम बुकिंग शुरु हुदैछ । केही दिनमै बुकिंग शुरु हुने व्यवसायीले जनाएका छन् ।
दशैंमा करीव २ सय नयाँ बस थप्ने तयारी व्यवसायीले गरेका छन् । दशैं लक्षित सहुलीयत पसल आजबाट शुरु हुँदैछ ।
विभिन्न खाद्यान्न तथा मासुमा नगद छूटसहित देशभर ७३ स्थानमा सहुलियत पसल संचालनमा आउँदैछ ।
बजारमा नयाँ सामान भित्राउन व्यवसायीले शुरु गरिसकेका छन् । बजार अनुगमन पनि उत्तिकै बढाएको सरकारको भनाई रहेको छ ।