दाउन्ने बस दुर्घटनामा ३ जनाको मृत्यु

नवलपुर । शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते मध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दुई महिला र एक पुरुषको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा इलामका २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ का ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ का ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ यात्रु घाइते भएका थिए ।

घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार जारी छ । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ दाउन्नेमा दुर्घटनामा परेको हो ।