दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए । उनीहरुको घटनास्थलमै ज्यान गएको छ । इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको ज्यान गएको हो । ट्रक प्रहरी नियन्त्रणमा छ ।