दाङमा दिपावली र हर्षोलास, बुटवल निरास

भालुबाङ, २१ असोज । एकसाता अगाडी सम्म बुटवलको पहिचान प्रदेश ५ को अस्थायी राजधानीको थियो । प्रदेशका महत्वपूर्ण गतिविधि बुटवललाई केन्द्रित हुने गरी भइरहेका थिए । तर, मंगलबारबाट बुटवलको पहिचान पुरानै अवस्थामा फर्किएको छ ।

यो अब लुम्बिनी क्षेत्रको एक पुराना शहर मात्र बनेको छ । उता, दाङले भने अब नयाँ पहिचान पाएको छ । दाङको देउखुरी उपत्यका र यसमा पर्ने भालुबाङ क्षेत्रमा हर्षोलास छाएको छ । प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाए ।

उनीहरुले बरु कोरोना भाइरसको भने त्यति प्रवाह गरेनन् । प्रदेशसभाको निर्णयको स्वागतमा मंगलबार साँझ जिल्लाभर दीपावली भएको छ । यसमा नेताहरुले समेत साथ दिएका छन् । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरियो ।

घोराहीमा दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्‍याली आयोजना भएको छ । उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकाले ।

प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख चोक–चोकमा दीपावलीसमेत गरेका हुन् ।

देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभाग अब प्रदेश ५ को राजधानी बनेको छ ।