काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन् । उनी भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबार नयाँ दिल्ली पुगेका हुन् ।
शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
त्यसअघि शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । त्यसपछि उनी काठमाडौं आउने छन् ।