कास्की । आपराधिक पृष्ठभूमिका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन् । उनी गण्डकी प्रदेशका सांसद हुन् ।
मनाङबाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका उनलाई चुनावमा नेकपाले नै सहयोग गरेको थियो । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराए ।
राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्कीसमेत नेकपामा प्रवेश गरेका हुन् । फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका मनाङेले सांसदमा निर्वाचित भएको लामो समयसम्म पनि सपथ भने लिन पाएका थिएनन् ।
सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि मात्र उनले प्रदेश सांसदको रुपमा सपथ लिन पाएका थिए ।
निर्वाचनकै बखत नेकपा प्रवेश गर्न चाहेपनि त्यसबेला आपराधिक पृष्ठभूमिका व्यक्तिलाई प्रवेश गराउन थालेको भन्दै पार्टीको व्यापक आलोचना भएको थियो ।
त्यसपछि नेकपा पछाडी हट्यो । तर, निर्वाचनमा भने पूर्ण सहयोग गरी जिताएको थियो । मनाङे यसअघि राप्रपामा सक्रिय रहेका थिए ।